५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

सुनसरीमा हत्या गरिएका खुर्सिदः जसले चार भारतीय अातंककारीलार्इ नेपाली नागरिकता दिलाए

४ असोज, काठमाडाैँ । सुनसरीमा बिहीबार हत्या गरिएका भुटहाका शिक्षक माैलाना खुर्सिद आलम अन्सारीले चार भारतीय अातंककारीलार्इ नागरिकता दिएको खुलासा भएको छ । उनले इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि बिहीबार हत्या भएको खुलेको हो ।

भारतीय आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको थियो। चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको थियो।

भारतीय गुप्तचर संस्थाले आतंककारी संगठन इन्डियन मुजाहिद्दिनको नेता भएकाले निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेको केही महिनामै उनको हत्या भएको हो ।  भारतका विभिन्न सहरमा सन् २००८ मा भएको श्रृखंलावद्ध बम आक्रमणका आरोपीलाई नेपालमा संरक्षण र आश्रय दिएको आरोप लागेका खुर्सिदलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको थियो।

प्रहरीका अनुसार खुर्सिदले चार जना भारतीय आतंककारीलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएका थिए । राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएको खुलेपछि उनी त्यसबेला कानुनी कारवाहीबाट बचेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २३:२९