२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य

२४ मंसिर, खोटाङ । खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चयन गरेको हो ।

बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोस्राेपल्ट समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा समानुपातिक सांसद बनेकी थिइन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लड्दा एमालेका विशाल भट्टराईसँग पराजित भएकी बजिमय यसपल्ट पुन: समानुपातिक प्रणालीमार्फत संसद छिर्ने अवशर पाएकी हुन् ।

ओखलढुंगामा जन्मिएकी बजिमयले २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसदको टुंगाे लगाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:१९