२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आफ्नो स्वामित्वको सम्पत्तिको उपभोग गर्ने वातावरण बनाइदिन सरकारसँग स्काउटकाे माग

२३ मंसिर, काठमाडाैं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेको छ ।

नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो । नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालि सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि आफूहरूले पटक–पटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको बताए ।

अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरूमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको उनले बताए । अध्यक्ष भण्डारीले सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अवहेलना गरेर अमुक व्यापारीको पक्षमा प्रहरी टोलीले गुण्डागर्दी शैलीमा आफूहरुको कार्यालयका सुरक्षाकर्मीमाथि हातपात गरी तोडफोड भएको जानकारी दिए।

उनले स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरे । उनले स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरूले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए ।

उनले स्काउटमाथि ज्यादती हुँदा र अदालतको समेत अवहेलना हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाए । स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भए पनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १५:१७