२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

समानुपातिक सांसद चयनमा रास्वपा पार्टीभित्र असन्तुष्टि

२२ मंसिर, काठमाडाैं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका बिषयमा असन्तुष्टि देखिएकाे छ । प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने भएको छ ।

सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताए ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

दलहरूलाई निर्वाचन आयोगले बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसदकाे नाम पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ११:५६