५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

महाअभियोग लगाए सामना गर्ने तर राजीनामा नदिने दीपकराज जोशीकाे जिकीर

४ असाेज, काठमाडौँ । न्यायाधीश दीपकराज जोशीले राजीनामा नदिने तर महाअभियोग प्रस्तावको सामना गर्ने जिकीर गरेका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च अदालत फर्किएपछि नेकपाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि नेकपाका सांसदहरूले बिहीवार हस्ताक्षरसमेत संकलन गरिसकेको स्रोतले जानकारी दियो । 

यसबीचमा नेकपाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न  जोशीलाई आग्रह गरेको थियो । जोशीले भने आफूले राजीनामा दिने कुनै मनस्थिति नबनाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिनुहुन्छ त भन्ने दैनिकीकाे प्रश्नमा जोशीले  राजीनामा दिने साेच नभएकाे बताए । महाअभियोग प्रस्ताव दर्ता भए त्यसकाे सामना गर्ने प्रतिक्रिया जाेसीले दिए ।

जोशीले राजीनामा नदिए आजै वा भोलिसम्ममा महाअभियोग प्रस्ताव दर्ता गर्ने नेकपाको तयारी छ । प्रतिनिधिसभामा कायम कूल सदस्य संख्याको एक चौथाइ सांसदको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । साउन १८ गते संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेको थियो ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १७:४४