२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

थ्रेसहोल्ड नकटाउनेमा सबैभन्दा ठूलो दल बन्यो माधव नेपालको नेकपा एस

२१ मंसिर, काठमाडाैँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस ) समानुपातिक मतमा थ्रेसहोल्ड नकटाउनेमा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । चुनावी अभियानका क्रममा पार्टी अध्यक्ष नेपालले देशकै ठूलो दल हुने घोषणा गरेको भए पनि समानुपातिक मतको तोकिएको सीमा नकटाउने दलको भने शीर्ष स्थानमै समाजवादी रहेको छ ।

थ्रेस होल्ड नककटाउने ४० दल मध्येमा शीर्ष स्थानमा समाजवादी भए पनि संसदको उपस्थितिमा भने दलीय हैसियत गुमेको छ । माधव नेपालले नेकपा एकीकृत समाजवादीको दलको नेताको हैसियतमा नभइ प्रतिनिधिसभा सदस्यको हैसियतमा मात्र संसदमा बोल्न पाउनेछन ।

नेकपा (एमाले), नेपाली काँग्रेस , नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी  र जनमत पार्टीले भने ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ ।

नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएकाे छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ।आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ। एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १०:३३