काठमाडाैँमा पेट्रोलियम पदार्थको अभाव, पम्पहरुमा सवारी साधनको लाइन
४ असाेज, काठमाडौँ । ट्याङ्कर चालकले मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्दा काठमाडाैँका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्न थालेको छ । पेट्रोलियम पदार्थकाे ढुवानी नगर्दा उपत्यकाका पम्पहरुमा सवारी साधनको लाइन लागेको छ ।
असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । निगमका अनुसार आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् । निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।
‘पेट्रोलियम पदार्थमा प्रतिकूल प्रभाव पार्ने गरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डीपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने लगायतका कार्यहरू गरेको पाइएमा सम्वद्ध सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारवाही गरिने जानकारी गराइन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकर चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, टिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेपछि निगमले चालकका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । पेट्रोल डिजेलको अभाव सृजना भएसँगै पेट्रोलपम्पहरूमा उपभोक्ताको भीडभाड देखिएको छ । पम्पहरूमा उपभोक्ताको लामो लाइन छ ।
प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १६:५५