२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

भाइरल भिडियोको छानबिन गरी कारबाही गर्न मधेशी आयोगद्वारा प्रहरीलाई पत्राचार

१५ मंसिर, काठमाडाैं । विगत केही दिनदेखि सामाजिक संजालमा भाइरल मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडिओप्रति मधेशी आयोगले कारबाहीको प्रक्रिया अघि बढाएको छ । मधेशी समुदायका अगुवाले आयोगमा यस बारेमा उजुरी दिएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

काठमाडाैं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरुले मेयर बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको जनाए ।

समाजमा चेतनाको स्तर अझै पनि नबढेको ले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको अध्यक्ष डा.दत्तले बताए ।

उनले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरुले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरु प्रति आफु सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताए । मधेशी समुदायप्रति प्रहार नगर्न पनि अध्यक्ष दत्तले सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १५:४४