२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

नारा नयाँको, पारा पुरानै भएपछि ‘लौरो अभियान’मा लफडा

१४ मंसिर, काठमाडौँ । पुराना राजनीतिक दलको परम्परागत शैलीका कारण मुलुक समृद्ध नभएको भन्दै वैकल्पिक शक्तिका रुपमा उदाएको ‘लौरो अभियान’ भित्र पनि लफडा सुरु भएको छ । पुराना नेतालाई निर्वाचनबाटै पराजित गर्दै वैकल्पिक शक्ति स्थापापित गर्न ‘नो नट अगेन’ अभियान चलाएको ‘लौरो समूह’ भित्र पनि पुरानै प्रवृत्ति हाबी भएपछि लफडा सुरु भएको हो । खासगरी समानुपातिक सूचीको प्राथमिकतामा क्षमतावान मान्छेभन्दा पनि नेतृत्वका आसेपासे परेपछि अभियानभित्र असन्तुष्टि बढ्न थालेको हो ।

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्नबाट बालेन्द्र साहले मेयर जितेपछि युवाको एक समूहले ‘लौरो अभियान’ चलाएको थियो । र, उनीहरुले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा लौरो चुनाव चिह्न लिएर ‘हाम्रो नेपाली पार्टी’ दर्ता गरेका थिए । जुन पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको प्राथमिकतालाई लिएर असन्तुष्टि चुलिएको पाइएको छ ।

खासगरी वागमती प्रदेशसभाका लागि बुझाइएको सूचीप्रति असन्तुष्टि बढेको एक ‘लौरो अभियन्ता’ले बताए । ‘अहिले आएको मतको हिसाब गर्दा हाम्रो पार्टीले वागमती प्रदेशसभामा एक–दुईजना समानुपातिक सांसद पाउने देखिन्छ । तर, पार्टीले बुझाएको प्राथमिकता सूचीमा जो राखिएको छ, यसप्रति धेरैको आपत्ति छ’, हाम्रो नेपाली पार्टीका एक नेताले भने, ‘अहिलेको पाराले त वैकल्पिक शक्ति भनिएको हाम्रो पार्टीको पारा पनि उहीं पुरानै पार्टीको जस्तो भयो ।’ खासगरी खस आर्य महिला कोटाको प्राथमिकतामा राखिएकी सुष्मा बस्नेतप्रति धेरैको आपत्ति छ ।

लौरो अभियानसँगै चुनावी प्रचारप्रसारमा समेत कतै नदेखिएकी बस्नेतलाई समानुपातिक सूचीको प्राथमिकतामा राखिएको भन्दै पार्टीका बहुसङ्ख्यक नेताले नै असन्तुष्टि जनाइरहेका छन् । कुनै पनि राजनीतिक पृष्ठभूमि नभएकी बस्नेत लौरो अभिन्ता कुलदीप बस्नेतकी श्रीमती हुन् । श्रीमान अभियानमा हिँडेकै आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाउन खोजिएको भन्दै अभियन्ताहरुले चर्को आवाज उठाइरहेका छन् ।

अभियानमा निकै सक्रिय भएर लागेकी नेतृ दुर्गेश्वरी बनलाई दोस्रो प्राथमिकतामा राखेर बस्नेतलाई पहिलो बनाएको भन्दै केही नेता, कार्यकर्ताले पार्टी अध्यक्ष अनन्त घिमिरेको समेत ध्यानाकर्षण गराएका छन् । लामो समय शिक्षण गरेर राजनीतिमा प्रवेश गरेकी दुर्गेश्वरीप्रति पार्टीका धेरै नेता, कार्यकर्ताको सहानुभूति र सद्भाव छ । नेपाली कांग्रेसको राजनीति छाडेर लौरो अभियानमा आएकी उनी चुनावी प्रचारमा निकै सक्रिय थिइन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १२:५५