४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

माैलिक हकसम्बन्धी सोह्र विधेयक प्रमाणीकरण

३ असोज, काठमाडाैँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

आज प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘जनस्वास्थ्य सेवा विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५,’ र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ रहेका छन् ।

यस्तै ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘सामाजिक सुरक्षा विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अपराध पीडित संरक्षण विधेयक, २०७५, र बालबालिकासम्बन्धी विधेयक, २०७५’ छन् । –रासस

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०५:५६