१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सीपी गजुरेलार्इ केपी अोलीले भने अब ज्ञापन पत्र लिएर हिड्नु पर्दैन

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र शुक्रबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय,देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो । ‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’

सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाल कसैको खेलमैदान होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब यहाँ सदभावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’ तस्बीरः प्रधानमन्त्रीको  सचिवालय

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १६:१९