३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

विकास निर्माणको ढिलाईमा कानुननै दोषीः मुख्यमन्त्री पौडेल

२ फागुन, चितवन । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताउनुभएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षणपछि मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सबै क्षेत्रका कानुनहरुमा केहि त्रुटि रहेकाले अब त्यसलाई सच्चयाउनुपर्ने बताउनुभयो ।

 

मुख्यमन्त्री पौडेलले भन्नुभयो, “कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ ।” “सबै कुरा गएर पैसामा अडिएको छ,” उहाँले भन्नुभयो, “लेनदेनकै कारण यी सबै भएको हो, त्यसैले कानुनलाई परिवर्तन नगरेसम्म परिवर्तनको अनुभूति दिलाउन सकिदैन् ।

मुख्यमन्त्री पौडेलले “जे जस्तो समृद्धिको कुरा गरिरहेका छौँ, विधमान कानुनबाट त्यो सम्भव देखिएको छैन,” भन्दै त्यस्ता कानुन प्रदेशसभाले परिवर्तन गर्ने तर त्यो परिवर्तन आजको भोलि नभएर केही समय लाग्ने बताउनुभयो ।

सडक विस्तारको काममा ढिलाइ भइरहेकाप्रति इङ्गित गर्दै उहाँले मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अब फेरि पनि तीन महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।”

एकले अर्काेलाई दोष दिएर काममा ढिलाइ गर्न नपाइने बताउँदै मुख्यमन्त्री पौडेलले परियोजना, परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो ।

निरीक्षणमा आउनु भएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेलले कम मूल्यमा टेण्डर पार्ने प्रवृत्तिको अन्त्य नभएसम्म समयमा काम नहुने बताउँदै समयमा सडक नबन्दा जनताले दुःख पाएको र त्यसको दोषी राज्य र कानुन भएको बताउनुभयो ।

सो अवसरमा आयोजनाका डिभिजनल इञ्जनियर गोविन्द खनाल, परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मी र ठेकेदार कम्पनीका प्रतिनिधिले आआफ्नो प्रगति विवरण र समस्याका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार २२:४५