१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आमाको हत्या गर्ने जय बहादुर पक्राउ

१८ कार्तिक, काठमाडाैँ । आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले काभ्रेको धुलिखेल नगरपालिका-११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ(७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका-११ डाँडा गाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् ।

बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १२:४५