अब बलात्कारीको अाँखा फुटाइने, ७७ जिल्लाकै स्कुले छात्रालाई तालिम दिने तयारी
३० भदाै, काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथिको जनविश्वास ह्वात्तै घटेको छ । योसँगै प्रहरीप्रति अनेक प्रश्नहरू समेत उब्जिएका छन् । प्रहरी र सरकारप्रतिको अाम मानिसको धारणा कस्तो बनेको छ भनेर सामाजिक सञ्जालमा हेरे पुग्छ ।
प्रहरी माथि बढेको दबाबकाबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना अघि सारेको छ । प्रहरीले अघि सारेको तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश गरिएको अाजको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ ।
हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन् । गत आर्थिक वर्षमा १ हजार ४ सय ८० बलात्कारको उजुरी परेको प्रहरी तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध नयाँ सचेतना तथा तालिम अभियान सुरु हुने थापाको भनाइ छ ।
यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ०९:३८