१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरुप दियाे २०० वटा सवारीसाधन

१५ कात्तिक, काठमाडाैं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरुप सवारी साधन प्रदान गरेको छ  । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतीय दुतावासले जनाएको छ । सवारी साधन हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले निर्वाचनले लोकतन्त्रलाई सुदृढका साथै आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चूनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग हुने उनले बताए ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका दौरान प्रयोग गरिने छ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दुतावासले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १३:४४