१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

‘नो नट अगेन’माथि लागेकाे बन्देज हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

१४ कात्तिक, काठमाडाैं । निर्वाचन आयोगको सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’ लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार अधिवक्ता अनिल आचार्यले निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उनले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ‘नो भोट’को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ‘नो नट अगेन’का पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।

जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा ‘नो नट अगेन’को अभियान सञ्चालन गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ ।

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै ‘नो नट अगेन’लगायतका पेजहरु पूर्ववत्रुपमा सञ्चालनमा ल्याउन परमादेश दिन समेत माग गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १९:२६