एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको खेल मेला सम्पन्न
१४ कार्तिक, एडिलेड । एआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा एडिलेडमा महिला खेल मेला सम्पन्न भएको छ । अक्टोवर ९ बाट सुरू भएको मेला आइतबार सम्पन्न भएको हो । साउथ अष्ट्रेलियाको खेलकुद क्षेत्रमा महिलाहरुको सहभागीता बढाउने उद्देश्यले आयोजित मेलामा पाँच खेलहरु समावेश गरिएको थियो फुटबल, क्रिकेट, टेनिस, व्याटम्यान्टिन र टेवल टेनिस खेल समावेश गरिएको थियो ।

मल्टीकल्चरल कम्युनिटी काउन्सिल साउथ अष्ट्रेलियाको सहयोगमा भएको मेलाको आइतवार आयोजित एक कार्यक्रम बीच खेलाडीहरुलाई ट्रफी वितरण गरिएको थियो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले खेलाडीहरुलाई बधाई दिदै खेलकुद मेल साउथ अष्ट्रेलियाबाट शुरु गरेकोमा नारी निकुञ्ज अष्ट्रेलियालाई धन्यवाद दिएकी थिइन् ।

खेल मेलाको उद्देश्य माथी प्रकाश पार्दै नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले प्रवासमा महिलाहरुको विभिन्न कारणले खेल क्षेत्रमा सहभागीता कम भइरहेको सन्दर्भमा महिलाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कतिपय महिलाहरु घर व्यवहारले आउन नसकेको र कतिपय महिलाहरु खेलको टिम बनाउने, सम्पर्क गर्ने लगायत समस्याले पनि आउन नसकेको अवस्थालाई मध्ये नजर गर्दै मेला मार्फत खेलाडीहरु बीच सम्पर्क गराउने देखी नेपाली समुदायका खेल क्लवहरु संग सम्पर्क गराउने काम समेत भएको बताइन् ।

खड्काले नारी निकुञ्जको एउटा उद्देश्य नै महिला श(शक्तिकरण भएकाले प्रवासको खेलकुद क्षेत्रमा महिलाहरुको श(शक्त उपस्थितिका लागि आकर्षण बढाउने प्रयासको रुपमा लिएका छौ । उनले अष्ट्रेलियामा रहेको नेपाली पहिलो पुस्ता खेल क्षेत्रमा कम्तिमा आफ्नो रहर पुरा गर्न वा स्वस्थ रहन पनि आउन जरुरी छ भने यस मेलामा दोस्रो पुस्ता छोरी पुस्ता पनि सहभागी भएको बताउदै , साफ गेममा नेपालको इज्जत बढाउने गौरिका सिंह जस्ता प्रतिभाहरुको विकास गर्न पनि खेलकुदमा महिला सहभागी बढाउनु परेको बताईन् । उनले यस बर्ष साउथ अष्ट्रेलियामा खेल मेला आयोजना गरिएको र आगामी वर्षहरुमा अन्य राज्यहरुमा समेत आयोजना गर्ने बताइन ।

खेल मेलामा व्याटम्यान्टिन तर्फका प्रथम प्रतिक्षा घिमिरे, दोस्रा रेजुमा केशी तेस्रा स्तुति फुयाल तथा टेवल टेनिस तर्फ प्रथम सुहानी राजभण्डारी, दोस्रा स्तुति फुयाल, तेस्रा प्रतिक्षा घिमिरे र टेनिस तर्फ प्रथम प्रतिक्षा घिमिरे, दोस्रा श्रृजा कडेल, तेस्रो मिना अधिकारी भएका थिए । भने क्रिकेट तर्फ नारी निकञ्ज साउथ अष्ट्रेलियाको टिम माथी एन्का सनसाईले जित हासिल गरेको थियो । फुटबलको मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको थियो ।

समापन कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समिति सदस्य सुर्य आचार्य, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्का, उपाध्यक्ष संजय पुरी, सचिव बिनोद बानिया, नारी निकुञ्ज संयोजक अनिता लम्सालले विजयीहरुलाई ट्रफी वितरण गरेका थिए भने कार्यक्रमको संचालन खेलकुद संयोजक एलिजा ढकालले गरेकी थिईन् ।


प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १४:०४












