७ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
८ कार्तिक, काठमाडौं । हालसम्म विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गर्ने बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), ग्लोबल आइएमई बैंक र सानिमा बैंक रहेका छन् ।
१) ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले लाभांस घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांस घोषणा गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरूका लागि १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांस (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) गरि नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांस सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
२) सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरूलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
३) बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
४) कुमारी बैंक
कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ ।
५) एनसीसी बैंक
एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
६) सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
७) नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको कार्तिक ४ गते बसेकाबैठकले बैंकको चौथो वार्षिक साधारणसभा बाेलाएकाे हाे । उक्त सभा मंसिर १० गते अनुपम फुडल्यान्ड काठमाडाैंमा बिहान ९ बजेदेखि सुरू हुने छ ।
सभाले गत आर्थिक वर्षको प्रस्तावित चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।
प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १४:१७












