५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एनसीसी बैंकले डाक्यो साधारण सभा, लाभांशसहित यस्ता छन् प्रस्ताव

६ कार्तिक, काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले वार्षिक साधारण सभा आह्वान गरेको छ । कार्तिक ४ गते शुक्रबार, बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे पच्चीसौँ वार्षिक साधारण सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको असोज २९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा भएका संशोधन सम्बन्धी विशेष प्रस्तावहरु सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू सभाबाट पारित हुने छ ।

हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा रहेका छन्  । मर्जर प्रक्रियामा रहेको बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै बैंकले वितरणा गर्ने उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १२:२५