४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला हत्या: कांग्रेस नेताका छोरा, निलम्बित एसपी विष्ट र उनको छोराको डीएनए परीक्षण सुरु

२८ भदाै, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र कांग्रेस नेता भुपेन्द्र विष्टका छोराको डीएनए परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ ।

हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट रकांग्रेस नेता भुपेन्द्र विष्टका छोरा आयुष विष्टको डीएनए परीक्षण सुरु गरिएको हो ।  नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डाक्टर हरिहर वस्तीसहितको टोलीले एसपी विष्टसहितको डीएनए परीक्षण सुरु गरेको हो ।

यसअघि प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दीलिप सिंह विष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो तर उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दीलिपलाई छाडिएको थियो ।

स्थानीयवासीले निलम्बित विष्टको काम शंकास्पद रहेको भन्दै उनी र अन्य दुईजनामाथि अनुसन्धान सुरु गर्नुपर्ने दवाव दिँदै आएका थिए । घटना भएको दुर्इ महिना पुग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै स्थानीयवासीले शंका व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १९:२४