चलचित्र बाबरी एडिलेडमा प्रदर्शन
२ कात्तिक, एडिलेड । प्रेम कथामा बनेको नेपाली चलचित्र बाबरीको रेड कार्पेट शो स्थानिय रीगल थिएटर सम्पन्न भएको छ | चलचित्रका अभिनेता धीरज मगर र अभिनेतृ अदिती बुढाथोकीको उपस्थितिले दर्शकहरुमा उत्साहको माहोल बनेको थियो ।
चलचित्रका नायक मगरले राम्रो चलचित्र निर्माण गर्दा नेपाली दर्शकले मन पराउने बताए। बाबरी राम्रो चलचित्र बनेको जसमा प्रेम र कमेडी समेत भएकाले दर्शकहरुको माया पाएको बताए । प्रवासमा नेपाली समुदायले नेपाली चलचित्र तथा संगितका लागि धेरै माया गरेकाले पछिल्लो समयमा नेपाली कला क्षेत्रले फल्ने फुल्ने मौका पाएको बताए । उनले बाबरी नेपाल बाहेक युरोप अष्ट्रेलिया हङकङ लगायतका ठाउमा राम्रो प्रदर्शक भैरहेको बताए ।
“इन्टुमिन्टु लण्डनमा” चलचित्रमा अभिनय गरेका धिरजले बाबरीबाट आशावादी रहेको बताए । उनले पहिलो चलचित्रमा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको बताए । यस चलचित्रमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । उनको ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर रहेको छ । उनले करिब चार वर्ष पछि बाबरी मार्फत पर्दामा आएको बताउदै बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा भएको बताए ।
नायिका अदिति बुढाथोकीले टिम वर्कले चलचित्र राम्रो बनेकाले दर्शकको साथ पाइरहेको बताईन ।उनले नेपाली चलचित्रलाई माया गरिदिएकोमा प्रवासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरिन् ।
चलचित्रको गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ अहिले चर्चाको शिखरमा छ।त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ। फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ।
एडिलेडमा शोको मुख्य व्यवस्थापन गरिरहेको माभेन कन्सल्ट्यान्सिङका निर्देशक रञ्जन खड्काले नेपाली चलचित्रका प्रवासमा रहेका दर्शकहरुलाई मनोरञ्जन दिन र चलचित्रलाई पनि व्यवसायी रुपमा सफल बनाउदै नया नया चलचित्र निर्माणका लागि निर्माताहरुलाइ उत्प्रेरित गर्न समेत चलचित्र प्रदर्शनीको व्यवस्थापन गरिएको बताए ।
दर्शक उषा गुरुले परदेशमा नेपाली कलाकार सहित चलचित्र हेर्न पाउदा निकै खुशी लागेको बताइन । अर्का दर्शक विपिन लामाले चलचित्र निकै राम्रो लागेको प्रतिक्रिया जनाए ।
प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १५:५४