निर्मला हत्यामा प्रहरीकै संलग्नता, निलम्बित एसपी विष्टको डिएनए परीक्षण गर्न परिवारको माग
२८ भदाै, काठमाडाैँ । घटनाक्रमले कञ्चनपुर भिमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछिको हत्यमा प्रहरीको संलग्ना रहेको पुष्टि हुँदै गएको छ । प्रहरीले योजनावद्ध रूपमा प्रमाण मेटाउनुले बलात्कार र त्यसपछिको हत्या पनि योजनावद्ध रूपमै भएको हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन् ।
निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका बुबाअामाले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।
निर्मलाका एक जना मामा केशव भण्डारीले एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने र एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्ने बताए ।
प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०७:४३