२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

अन्ततः उपेन्द्र यादव केपी ओलीको शरणमा, पाँच दलीय गठबन्धन औपचारिक रूपमा फुट्दै

२१ असोज, काठमाडौँ । पाँच दलीय गठबन्धनको एक मुख्य घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको शरणमा परेका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुई दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काखबाट भागेर उपेन्द्र यादव ओलीको शरणमा पुगेका हुन । देउवाले मागेजति सिट नदिएपछि यादव ओलीको शरणमा परेका हुन । ओलीको शरणमा परेका यादवको माग सम्बोधन गर्न बिहीबार राति एमाले सचिव रघुवीर महासेठको घरमा छलफल भएको थियो ।

त्यहाँ एमालेले २१ देखि २२ निर्वाचन क्षेत्रमा जसपालाई सहयोग गर्ने र बाँकी निर्वाचन क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने गरी सहमति जुटेको छ । अनौपचारिक रूपमा सहमति जुटेको भए पनि त्यसलाई लिखित रूपमा शुक्रबार बिहान आकार दिइने जसपाका एक नेताले दैनिकीलाई जानकारी दिए ।

यद्यपी जसाका केही नेताभने अझै पनि कांग्रेसको सम्पर्कमा रहेर सिटको बार्गेनिङ गरिरहेका छन । कांग्रेससँगको बार्गेनिङ सफल भएमा भने जसपाले एमालेसँग सहमति नगर्ने सम्भावना पनि उत्तिकै छ । त्यसैका लागि जसपाले मध्यरातमा सहमति जुटे पनि हस्ताक्षर भने शुक्रबार मात्र गर्ने बताएको छ ।

जसपाले लिखित रूपमा एमालेसँग तालमेलको निर्णय लिए ओलीलाई सत्ताच्यूत गर्न बनेको पाँच दलीय परमादेशी गठबन्धन औपचारिक रूपमा विभाजित हुनेछ । विषयगत रूपमा केही अघि नै जनमोर्चाले विभाजनको संकेत दिएको भए पनि दुई सिट पाउँदा उ गठबन्धनमै रहेर चुनावमा जाने पक्षमा छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०८:३४