१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

प्रचण्डको निर्वाचन क्षेत्रमा निर्माणाधिन कुमाल सङ्ग्रहालय अलपत्र, बजेट सकियो

६ असोज, चितवन । कुमाल समुदायको संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको कुमाल सङ्ग्रहालय भवन अलपत्र परेको छ । नेपाल कुमाल सुधार समितिले भरतपुर महानगरपालिका–११ बोहोरा मार्गमा सङ्ग्रहालय भवन बनाउन थालिएको थियो ।

भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीबाट विसं २०७७ चैत ७ गते भवनको शिलान्यास भएको थियो । करिब एक कठ्ठा सरकारी जमिनमा विसं २०७८ देखि भवन निमार्णको काम सुरु भएको सङ्ग्रहालयका संयोजक खुसबहादुर कुमालले बताउनुभयो । तर रु २५ लाख ४३ हजार खर्चिँदा पनि भवनको एक तला पनि बन्न सकेन ।

उहाँले भन्नुभयो, “बन्दै गरेको सङ्ग्रहालयका लागि महानगरले रु पाँच लाख, ११ नं वडाले रु आठ लाख र सांसद पार्वती रावलको पहलमा बागमती प्रदेशबाट रु १२ लाख ४३ हजार बजेट प¥यो । तर जग्गा गहिराइमा भएकाले १८ फिट पुर्दा, जग हाल्दा, गारो लगाउँदा, फिलिङ गर्दा नै यो रकम सकियो ।” भवन निमार्णको क्रममा अझै रु दुई लाख ऋण रहेको कुमालले बताउनुभयो ।

यो सङ्ग्रहालय पूर्णरूपमा निर्माण सम्पन्न हुनका लागि रु एक करोड २५ लाख कुल खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि बाँकी रकम जुट्न नसक्दा भवन निर्माण अलपत्र परेको समितिका चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म रु २७ लाख ४३ हजार खर्च भइसक्यो । माग गरेको बजेटमा ढिलासुस्ती हुँदा सङ्ग्रहालय बन्न वर्षाैँ लाग्ने भो । ” अध्यक्ष कुमालले संस्कार र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्न राज्यका निकाय छिटो–छरितो हुनुपर्ने र सङ्ग्रहालयलाई पूर्णता दिन सरकारदेखि हरेक सामाजिक क्षेत्रमा धाइरहेको बताउनुभयो ।

कुमाल समुदायको लुकेको र लोप हुँदै गइरहेको संस्कृति, सभ्यता जगेर्ना गर्नका लागि सङ्ग्र्रहालयले महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ । निर्माणाधीन भवन तीन तलाको हुने छ । यसभित्र सातवटा कोठा हुनेछन् । सङ्ग्रहालयको दुईवटा तलामा कुमाल समुदायको मौलिक संस्कार, संस्कृति, सभ्यता झल्किने सामग्री राखिने छ ।

तेस्रो तलामा कार्यालय बनाइने छ । चितवनको मेघौली, जुटपानी, सालबास र तनहुँमा रहेका कुमाल समुदायको मुख्य पेशा माछा मार्ने, जाल बनाउने, माटोका भाँडा बनाउने हो । कुमाल अगुवा तथा संयोजक खुसबहादुर कुमालले कुमाल समुदायको लुकेको संस्कृति जगेर्ना गर्नका लागि सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १६:२७