१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

निर्वाचन आयोगले समानुपातिक सुची तयार गर्दा पुरानो सूची स्वत निष्कृय हुनेगरि प्रक्रिया अघि बढाउने

२९ भदाै, काठमाडाैं । निर्वाचन आयोगले आगामी निर्वाचनको नयाँ कार्यकालका लागि समानुपातिक सुची तयार गर्दा पुरानो सूची स्वत निष्कृय हुनेगरि प्रक्रिया अघि बढाउने जनाएको छ ।

बुधबार बिभिन्न दलका प्रतिनिधिहरुसंगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातीकको नयाँ बन्द सूची आएपछि यसअघिको सूची स्वत निष्कृय हुनेगरि कुनै न कुनै प्रक्रिया अपनाउनुपर्नेमा एकमत रहेको बताए । आयोगले निर्वाचन आयोग ऐन २०७३ को दर्ता ४९ प्रयोग गरेर यसलाई उपयुक्त निकास दिने उनले जानकारी दिए ।

समानुपातिकको नयाँ प्रक्रिया प्रारम्भ हुनुअघि नै पुराना उम्मेदवारीहरुलाई स्वत रद्द हुने उनको भनाई छ । त्यस्तै थपलियाले स्थानीय तहमा नै जारी गरेको आचारसंहितालाई नै केहि व्यहारिक बनाउने गरि आयोग अघि बढेको बताए ।

छलफलका क्रममा अधिकांश राजनीतिक दलहरुबाट संसदीय व्यवस्थामा सरकारका प्रमुख आफ्ना एजेण्डालाई जनतामाझ लिएर जान पाउने अधिकारलाई कुण्ठित गर्न नहुने माग आएको उनले बताए । उनले पदमा रहेका राजनीतिक व्यक्ति उम्मेदवार भएका स्थानमा सार्वजनिक स्रोत साधनको प्रयोग नगरि प्रचारप्रसार गर्न पाउने तर अन्यत्र जाँदा आयोगको परार्शमा मात्रै जान पाउने व्यवस्था हुदै आएकोमा यसपटक निर्वाचनको क्रममा मन्त्रीहरुको धेरै आगमनले आचारसंहिता कार्यान्वयनमा कठिन भएका कारण त्यसलाइ पनि निरुत्साहित गर्ने आयोगको सोचाई रहेको बताए ।

थपलियाले प्रतिनिधिसभाको कार्यकालका बारेमा कुनै संवैधानिक व्यवस्था नदेखिएकाले समानुपातीको बन्द सूची बुझाउने दिनलाई आयोगले कार्यकालको अन्तिम दिन मानेको जिकिर गरे ।

छलफलपछि कांग्रेस नेता जीवन परियारले यसअघिको निर्वाचनका लागि बन्द सूचीमा भएका नामहरुको बारेमा के गर्ने भन्ने छलफल भएको र नयाँ बन्दसूची बुझाउनुअघि नै पुरानो बन्दसुची निष्कृय भएको सूचना जारी गर्ने बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले समानुपातीकको बन्द सूचीको प्रक्रिया सुरु हुने अघि नै यसअघिको बन्द सूची निष्कृय गर्ने बिषयमा सहमति भएको बताए ।

आयोगले आगामी निर्वाचनका लागि आचारसंहितामा केहि परिमार्जन गर्ने तयारी गरेको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदैछ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १८:१६