बैंकहरुमा तरलता अभाव छैनः डेपुटी गभर्नर मिश्र
२४ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताएका हुन् । ‘हामी लगानीयोग्य पूँजीको अभावलाई तरलता अभाव भन्छौं,’ उनले भने, हाम्रो समस्या तरलता अभाव नभएर लगानीयोग्य पूँजीको अभाव हो ।’
डेपुटी गभर्नर मिश्रले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताएका छन । साथै उहाँले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने पनि जनाएका छन् ।
राष्ट्र बैंकले बैंकहरूलाई ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको जनाउँदै उनले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताएका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १६:२०












