१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

विदुर खानेपानीको चुनाव बुधबार, एमालेका सञ्जिबविरूद्ध तीन दलको गठबन्धन

१८ भदौ, काठमाडौँ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकामा खानेपानीको व्यवस्थापनको काम गर्दै आएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन सोमबारबाट सुरू हुने भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशन अन्तर्गत भदौ २२ गते बुधबार मतदानको कार्यक्रम राखिएको छ । बुधबार नेकपा एमाले र राप्रपा निकटका उपभोक्ताले सञ्जिव श्रेष्ठको नेतृत्वमा र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका उपभोक्ताले छत्रराज डंगोलको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता भएको छ ।

सन्जिव बहादुर श्रेष्ठ नेकपा एमालेको विदुर नगरपालिका इन्चार्ज समेत हुन । उनको प्यानलमा उपाध्यक्षमा महेश कुमार डंगोल, सचिवमा राजेन्द्र पाण्डे, कोषाध्याक्षमा अम्विका चित्रकार (खनाल), महिला सदस्यमा विष्णुमाया डंगोल, सीता अधिकारी र सदस्यहरूमा कृष्णप्रसाद भट्ट, लव प्रसाद न्यौपाने र दीपकबहादुर तिम्सिना रहेका छन । प्यानलमा रहेका मध्ये उपाध्यक्ष डंगोल राप्रपाका हुन  । दुई दलको बीचमा सहमति भएर उम्मेदवारी दिएको एमाले विदुर नगर कमिटीका अध्यक्ष नविन प्रधानले दैनिकीलाई जानकारी दिए ।

कांग्रेस निकटको डंगोल प्यानलबाट उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा नरेश बहादुर डंगोल, कोषाध्यक्षमा रबिता भट्ट रहेकी छिन । स्वतन्त्रबाट मुरारी नेपालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने सदस्यमा पनि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरणमा संस्थाले काम गर्दै आएको छ । संस्थाको नवौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन सोमबार विदुरमा हुँदैछ । अनेक भ्रष्टाचार र कवाडी काण्ड झेलिरहेको संस्था नयाँ नेतृत्वले सुधारको बाटोमा जाने उपभोक्ताले अपेक्षा गरेका छन ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार २१:२३