सभामुख महराद्वारा महावाणिज्य दूतावासको अवलोकन
२३ भदौ,काठमाडाै । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज बिहान ल्हासास्थित नेपाली महावाणिज्य दूतावास अवलोकन गर्नुभएको छ ।
दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले स्वागत गर्नुभएको थियो । सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न सुझाव दिनुभयो ।
उहाँले नेपालसँग सीमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिकरुपमा धेरै फाइदा लिन सकिने बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा महावाणिज्यदूत कार्कीले दूतावासको अवस्था, नेपाल–तिब्बत व्यापारको गति र सम्भावनाबारे जानकारी गराउनुभएको थियो । सभामुख महराले आइतबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवन शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १०:४९