४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

काठमाडाैँका १० क्षेत्रबाट सिफारिस भएका यी हुन एमालेका उम्मेदवारहरू

१६ भदाै, काठमाडाैँ । नेकपा एमालेले बुधबार काठमाडाैँको १० वटै क्षेत्रबाट उम्मेदवारहरू सिफारिस गरेको छ ।  पार्टीको निर्देशन अनुसार समावेशिता समेतलाई ध्यानमा राखेर तीन जनाको नाम सिफारिस हुनुपर्नेमा कुनै कुनै क्षेत्रमा एक जनाको मात्र नाम सिफारिस गरिएको छ ।

बुधबार बसेको काठमाडाैँको १० वटै निर्वाचन क्षेत्रीय कमिटीको बैठकको सिफारिस अनुसार क्षेत्र नम्बर १ मा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, विदुर मैनाली र रूपनारायण श्रेष्ठको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा मणिराम फूयाँलको नाम सिफारिस भएको छ । फूयाँल अहिले प्रदेश सांसद हुन । यस क्षेत्रमा राष्ट्रपति पुत्री उषाकिरण भण्डारीको नामको चर्चा चलेको भए पनि सिफारिस भने नभएको एमाले नेताहरूले बताएका छन ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट वर्तमान सांसद कृष्ण राईको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नम्बर ४ बाट स्थायी कमिटी सदस्य डा.राजन भट्टराई र निर्मल कुइकेलको नाम सिफारिस भएको एमाले काठमाडाैँले जनाएको छ ।

त्यस्तै क्षेत्रनम्बर ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको एकल नाम सिफारिस भएको छ । पोखरेल अहिले पनि सोही क्षेत्रबाट सांसद रहेका छन ।

त्यस्तै उम्मेदवारको तीब्र खोजी भैरहेको क्षेत्र नम्बर ६ बाट ७ जनाको नाम सिफारिस भएको छ । तीन जनाको नाम मात्र सिफारिस गर्नुपर्ने भए पनि उम्मेदवारीको विषयमा सहमति हुन नसकेपछि सात जनाकै नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरूमा वर्तमान प्रदेश सांसद योगेन्द्र संग्रौला, कल्पना रिजाल, प्रेमराज सिलवाल, लेखनाथ फुयाल, माता प्रताप थापा, हरिशरण तिमल्सिना र मीना थापा रहेका छन ।

त्यस्तै एमालेले क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुरबाट चुनाव लढ्दै आएका रघुजी पन्तसहित पाँच जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रमा दाबी गर्ने उम्मेदवार पाँच जनाकै नाम सिफारिस भएको हो। जसमा पन्त सहित विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, विपी ढकाल र श्याम घिमिरे रहेका छन ।

त्यस्तै क्षेत्र नम्बर ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम सिफारिस हुने अपेक्षा गरिए पनि वर्तमान प्रदेश सांसद राजेश शाक्यको नाम एकल रूपमा सिफारिस गरिएको छ । त्यस्तैक्ष क्षेत्र नम्बर ९ बाट एमालेले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र विद्यासुन्दर शाक्य र उनका भाइ डा अजय क्रान्ति शाक्यको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १० बाट एमालेले डा सुरेन्द्र मानन्धरसहित विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, शम्भुराम महर्जन र हिमेष केसीको नाम सिफारिस गरेको छ । अब जिल्ला कमिटीले क्षेत्रबाट सिफारिस भएकाे उम्मेदवारका सम्बन्धमा टिप्पणीसहित सिफारिस गर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०५:२८