नेपाल आयल निगमको प्रमुख हुन दिगम्बर झाले १० करोड अफर गरेको खुलासा
२३ भदौ, काठमाडौँ । सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका दगिम्बर झाले नेपाल आयल निगमको प्रमुख हुन १० करोडसम्म घुस प्रस्ताव गरेको खुलासा आजको नागरिक दैनिकले गरेको छ । सिके राउतदेखि सबै राजनीतिक दलका नेतामा लगानी गरेको आरोप लगोका झा दूरसञ्चार प्राधिकरणको प्रमुखमा नियुक्त भएपछि नागरिकले झाको विगत खोतलेको छ ।
नागरिकले लेखेको छ ‘सबैलाई रिझाउन खप्पिस झा यसपाली पनि रिझाउन सफल भएको मन्त्रालय स्रोतले बतायो । झाले वितगमा पनि सम्बन्धित मन्त्री, सचिव, शक्ति केन्द्रलाई रिझाएर विभिन्न ठाउँमा नियुक्ति पाएका थिए । नेपाल आयल निगममा दोस्रो पटक नियुक्ति लिनसमेत उनले ठूलो कसरत गरेका थिए । निगममा पहिलो कार्यकाल सकिएपछि पुनः नियुक्ति पाउन उनले तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टलाई आफ्नो सचिवालयमार्फत सीधै ८ करोड रुपैयाँ अफर गरेको उनी नजिकको स्रोतले बतायो । भट्टले ८ करोडको अफरलाई बेवास्ता गरेपछि तत्कालीन उद्योगमन्त्री अनिल झाबाट १० करोडको प्रस्ताव गएको दाबी स्रोतको छ । भट्टले झालाई कुनै पनि हालतमा पुनः नियुक्ति नदिने बताएपछि उनी पछि हटेका थिए ।’
झाले पहिलोपटक २०६४ भदौ २१ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्ति पाएका थिए। झा निगममा हुँदा आवश्यक नभएको ठाउँमा तेल डिपो स्वीकृति दिएको र ग्यासको लाइसेन्समा पनि अनियमिता गरेको आरोप लागेको थियो । बबई सिँचाइ आयोजनामा इन्जिनियर हुँदा झाले रक्सौलबाट नेपालगन्ज लैजानुपर्ने सामानलाई वीरगन्जबाट बुटबल, तम्घास, सन्धिखर्क, गोरुसिगे हुँदै नेपालगन्ज पु(याएका थिए। ढुवानी भाडा बढी देखार मोटो रकम बुझ्न उनले घुमाउरो बाटो देखाएर बिल पेस गरेको आयोजनाका तत्कालीन एक अधिकारी बताए ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०९:०८