१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

पत्थरीको अप्रेसन गर्न गएकी नुवाकोटकी राधिकाको वीर अस्पतालले ४ वटा दाँत झिक्यो

-सुलभ अधिकारी

४ भदौ, काठमाडौँ । अस्पतालहरूको लापरवाहीले सीमा नाघ्न थालेको छ । विरामी एउटा सेवा लिन अस्पताल गएको हुन्छ तर विभिन्न वहानामा अर्कै उपचार गरेर पठाइरहेको हुन्छ । अझ शल्यक्रिया (अप्रेसन)मा झन बदमासीहरू भैरहेका कुरा निरन्तर मिडिया मार्फत सार्वजनिक भैरहेका छन ।

देशकै जेठो अस्पताल वीर अस्पतालमा उपचारका लागि पुगेकी नुवाकोटकी राधिका ओझाले त्यस्तै व्यहोरेकी छिन । पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी उनको चिकित्सकले शल्यक्रिया कक्षामा लगेर चार वटा दाँत झिकिदिएका छन ।

राधिकाका अनुसार उनी साउन ३० गते पत्थरीको शल्यक्रिया गर्न भन्दै वीर अस्पतालमा भर्ना भएकी थिइन । उनलाइ अस्पतालले साउन ३१ गते पित्तथैलीको शल्याक्रिया गर्न शल्यक्रिया कक्षमा पनि लग्यो तर पत्थरी शल्यक्रिया नगरी ५० वर्षीया राधिकाको चार वटा दाँत झिकिदियो । चिकित्सकले राधिकाको माथिल्लो भागको चार वटा दाँत ओखलिदिएका छन ।

घटनाको विषयलाई लिएर राधिका आफन्त आन्दोलित हुन थालेपछि अस्पताले पैसाको प्रलोभन दिएर घटना बाहिर नल्याउन दबाब दिएको पीडितका आफन्तले बताएका छन । उनीहरूलाई प्रति दाँत १० हजारका दरले पैसा लिन अफर गरिएको बताइएको छ । तर उनीहरूले छनविन गरेर चिकित्सक माथि कारबाही हुनुपर्ने बताएका छन ।

अस्पताल प्रशासनले भने पत्थरी उचारका क्रममा पाइप छिराउँदा दाँच भाँचिएको जनाएको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र बस्नेतले बिरामीको उपचार निशुल्क गरिदिने भन्दै कुराकानीका लागि बोलाइएको बताएका छन ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०७:१८