राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक जस्ताको तस्तै पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि जस्ताको तस्तै पारित गरिएको हो ।
सभामुख अग्नी प्रसाद सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।
सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट विधेयक पारितसँगै अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश गरिने छ ।
राष्ट्रपतिले अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदलाई फिर्ता पठाएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरुलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो ।
प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १९:००












