२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

आज पनि बन्दुक तेर्साएर काठमाडौँको फोहोर नुवाकोट लगिदै


१ भदाै, काठमाडाैँ । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर बन्दुक तेर्साएर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।

तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्दा प्रहरी परिचालन गर्ने महानगरको उद्देश्य नरहेको बताए । ‘ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो,’ उनले भने ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १०:०२