१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

अन्ततः फोहोर रोक्न एक भएर सडकमै निस्किए कांग्रेस, माओवादी र समाजवादी

३० साउन, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को ओखरापौवाको सिसडोलमा १७ वर्षदेखि बिर्सजन हुँदै आएको फोहोर धादिङको बाटो हुँदै बञ्चरेडाँडा पुग्न थालेपछि थप समस्या सिर्जना भएको छ । धादिङको धुनिवेशी नगरपालिकाको बञ्चरेडाँडा आसपासका जनताको जग्गा अधिग्रहण गराएर पैसा दिलाइदिन्छु भन्दै करोडौँ ठग्नेहरूले अहिले फेरि राजनीतिक दलका नाममा प्रकट भएका छन ।

खासमा फोहोर बिसर्जन गर्ने स्थान आसपासका नागरिकको मुख्य माग जग्गाको अधिग्रहण रहँदै आएको छ । सरकारले आफ्ना लागि फोहोर व्यवस्थापनलाइ आवश्यक हुने जग्गा यसअघि नै अधिग्रहण गरिसकेको छ । तर विगदेखि केही राजनीतिक विचौलियाले तेरो जग्गा अधिग्रहणमा पारिदिन्छु भनेर खाएको कमिसन पचाउनका लागि अहिले फोहोरका नाममा विभिन्न खालका बहानाबाजी चलाइरहेका छन ।

योभन्दैमा काठमाडौँ उपत्यकाका स्थानीय तह र केन्द्रीय सरकारले त्यस भेगका जनतासँग गरेको सयौँ सम्झौता कार्यान्वयन गर्नुपर्दैन भन्ने होइन । त्यसमा सरकार चुकेको छ । काठमाडौँ महानगरपालिकाले ककनी गाउँपालिकाका कांग्रेस, एमाले र माओवादी केही नेताका लागि महत्वपूर्ण सम्वृद्धि दियो ।

कोही ठेकेदार भए कोही वार्ता समितिको संयोजक भए कोही संघर्ष समितिको संयोजक भएर करोडौँ रूपैयाँ कुम्लयाए तर उनीहरूले जनताको बीचमा भएको सहमति कार्यान्वयनमा कहिल्यै काम गरेनन् । बरू जनतादेखएर सधैँ महानगरपालिकालाइ हैरानी पारे । जनतालाइ गुमराहामा राखेर सीमित व्यक्ति मोटाएमात्रै ।

न काठमाडौँ महानगरपालिका र सरकारले शान्तिको श्वास लिन पायो न त जनताको माग पूरा भयो । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा स्वतन्त्र व्यक्ति मेयरमा चुनिनु र स्थानीयको नाममा स्थानीय सरकारका प्रतिनिधिले वार्ता र छलफल गर्ने भन्ने भएपछि विगतदेखि फोहोरका नाममा कमाइरहेकाहरू तिलमिलाएका छन । उनीहरूको कारण अब फोहोरमा थप समस्या सिर्जना भैएको छ ।

आइतबारबाट धादिङको धुनिवेशी नगरपालिकाको वडा नम्बर १ का नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा फोहोरमा अबरोध सिर्जना गर्ने निर्णय गरेपछि सोमबारबाट फोहोरका सायौँ गाडी रोकिएका छन । तीन वटै पार्टीका नेताहरू सडकमै उत्रिएका छन । उनीहरूको हिजो सार्वजनिक गरेको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १३:२३