२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

गण्डकीमा खानेपानी तथा सरसफाइ र जलस्रोत तथा सिंचाइ व्यवस्थापनसम्बन्धी विधेयक पारित

१६ साउन, गाेरखा । गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ। आइतबार प्रदेश सभाकाे बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिंचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हाे ।

संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिंचाइ तथा खानेपानी ऐन बनेको छ । विगतमा ऐन नहुँदा सामान्य कार्यविधिकै भरमा काम गर्नु पर्ने बाध्यता रहेकाे ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए ।

`यी दुई ऐन पारित भएसँगै अब हामीले खानेपानीकाे मुहान दर्ता, उपभोक्ताकाे अधिकार, कार्यालयकाे अधिकार, कार्यक्षेत्र, खानेपानीकाे महसुल व्यवस्थित बनाउने लगायत थुप्रै सहजता हुने भएको छ,´ मन्त्री आचार्यले भने ।

ऐन पारित भएसँगै नियमावली निर्माणकाे प्रक्रिया सुरु गरिसकेको उनले बताए । `ऐनका आधारमा हामीले आवश्यक सबै नियमावली बनाइसकेका छाैँ । अब अन्तिम छलफल गरेर ढिलोमा साउन मसान्तसम्ममा मन्त्री परिषदमा छलफल गराएर पास गर्नेछौं´, उनले भने ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १५:२३