१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे

१२ साउन, काठमाडाैं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुको भ्रमण नियमित रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी गराएकाे छैन ।

लुले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट अनुमोदन भएको थिएन । उनले उक्त भ्रमणकाे समयमा नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसीसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्केका थिए । नेपालको संसदले फागुन १५ मा एमसीसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्‌बाट पारित गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १७:१२