सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन
१० साउन, काठमाडाैं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।
गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । मन्त्रालयले सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि प्रस्ट पारेको छ ।
अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो ।
प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १८:३३












