२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लमजुङमा राहदानीबाट दुई करोड बढी राजश्व संकलन

९ साउन, लमजुङ । लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावण देखि असार सम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपियाँ राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजश्व सङ्कलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार आठ सय ५१ राहदानी सिफारिस सेवा भएको छ । सो अवधिमा राहदानीका लागि पाँच हजार तीन सय ५० साधारण सिफारिस भएको छ भने एक हजार पाँच एक द्रुत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी मिश्रले बताए । राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्क बाट पाँच लाख, ९५ हजार चार सय दुई रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

प्रशासनिक दण्ड जरिवाना जफतबाट आठ लाख २० हजार ६ सय १० रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट पाँच लाख ११ हजार ३५ रुपैयाँ सङ्कलन भएको छ भने परीक्षा दस्तुरबाट एक हजार एक सय रुपैयाँ राजश्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १८:५१