‘लास्ट आवर’मा मोदीसँग भेट हुन सकेन, तर टेन्सन छैन : प्रचण्ड
१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको बताएका छन् ।
तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनुअघि शुक्रबार प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भएको थियो । तर भेट हुन सकेन । आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग हुन तय भएकाे भेट स्थगित भएको जानकारी पाएको बताए ।
उनले भने ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो, एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’ प्रचण्डले भने, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’
प्रचण्डले बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने बताए । उनले भने, ‘ किनभने भन्नुपर्ने, गर्ने कुराहरु भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन ।’
उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए ।
प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १९:२९












