२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

धुर्मुसले फाउण्डेसनका नाममा लिएको पैसा गैरकानुनी, महालेखाले उठायो प्रश्न


३१ असार, काठमाडाैँ । भरतपुर महानगरपालिकाले नियम विपरीत गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि रकम भुक्तानी गरेको पाईएको छ । सार्वजनिक खरिद ऐन विपरीत महानगरले रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले रु.२० लाख भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य बोलपत्रको माध्यमद्धारा खरिद गर्नुपर्ने व्यवस्था छ । तर भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न एक गैरसरकारी संस्थालाई रु.८ करोड ५ लाख भुक्तानी गरेकोमा खर्च तथा प्रगति स्थिति सम्बन्धमा अनुगमन समेत नगरेको देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदनमा उल्लेख भए अनुसार लागत अनुमान मध्येको ८५ प्रतिशत कार्य भएको र बाँकी कार्य गर्न ४ करोड ९० लाख स्रोत अभाव भएको उल्लेख छ । महालेखाले महानगरको लगानी, रंगशालाको निर्माण र राष्ट्रिय खेलकुद परिषद्को मापदण्डलाई मध्यनजर गरेर निर्माण सम्पन्न गर्ने, स्वामित्व प्राप्ती र प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव समेत दिएको छ । भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले आर्थिक अभावमा अलपत्र परेको छ । अहिले रंगशालाको फलाम छडमा खिया लाग्ने अवस्था पुगेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार २२:१२