२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

नुवाकोटको बेलकोटगढीमा माओवादी र कांग्रेसले ४० कर्मचारीको जागिर एकै पटक खोसे


३१ असार, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेसको सहमतिमा नगरपालिकामा कार्यरत ४० जना कर्मचारीको जागिर एकै पटक खोसिएको छ । पार्टीका कार्यकर्ता भर्ति गर्नका लागि यसअघि नगरपालिकाले निश्चित बिधि र प्रक्रियाबाट लिएका करारका कर्मचारीको समेत जागिर खोसिएको हो ।

नगरपालिकाका प्रमुख जगत लामा र उपप्रमुख शिव दाहालले राजनीतिक पुर्वाग्रहको आधारमा करारका सबै कर्मचारीको जागिर एकै पटक खोसेका हुन । यसअघि नेकपा एमालेको नेतृत्वले राखेका ती कर्मचारी हटाएर हालको माओवादी र कांग्रेसको नेतृत्वले आफ्ना पार्टीका कार्यकर्ता भर्ति गर्ने तयारी गरेका छन ।

नगरपालिका स्रोतका अनुसार १३ वडा कार्यालय र नगरपालिकाको कार्यालयमा कार्यरतसहित ४० जना भन्दा बढी रहेका छन । नगरपालिककाका प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडाले असार ३० गतेको निर्णय भन्दै शुक्रबार करारका कर्मचारी सबै एकै पटक पदमुक्त भएको सूचना जारी गरेका छन ।

कसैप्रति राजनीतिक पूर्वाग्रह राखिने छैन र कसैप्रति अन्याय हुनेछैन भन्ने चुनावी प्रतिवद्धता धोति लगाउँदै उनीहरूले यस्तो निर्णय गरेका हुन । लामाले त अझ आफू समाजसेवी रहेको भन्दै कसैप्रति अन्याय हुन नदिने भन्दै खोक्रा भाषण गर्न गरेका थिए तर शुक्रबारदेखि कार्यान्वयनमा आएको उनको बिहीबारको निर्णयले बिगतमा उनीप्रति रहेको दृष्टिकोण पुरै भत्काइदिएको छ ।

प्रमुख लामा र उपप्रमुख दाहालको बीचमा दोस्रो चरणमा स्वास्थ्य र कृषिका करारका कर्मचारी हटाउने सहमति भएको छ । उनीहरूले पहिलो चरणमा आन्तरिक स्रोतबाट तलब खाने कर्मचारी र कार्यालय सहयोगी हटाएको बताएका छन ।

हामीले करारका कर्मचारीले एकै पटक पदमुक्त गरेको विषयमा जानकारी लिन नगरप्रमुख र लामा र प्रशासकीय अधिकृत खतिवडासँग कुरा गर्ने प्रयास गरे पनि उनीहरूसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार २१:३६