काम गर्न दिनुभएन भने विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छुः देउवा
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई काम गर्न नदिए विधान संशोधन गरेरै भएपनि तेस्रो पटक सभापति भइदिने चेतावनी दिएका छन्। देउवाले केन्द्रीय कार्यालय सानेपामा दुई दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो चेतावनी दिएका हुन्।
उनले भने, ‘केही नेताहरुले होटलमा अन्त–अन्त भेला गरेर मलाई जिस्क्याउने र पेल्ने काम गरिरहनुभएको छ, तपाईंहरु पार्टी कार्यालयमै गर्नुस् जे गर्नुछ। मलाई पेल्ने काम नगर्नुस्। म विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु।’
बैठकमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टीले हार्ने बताएपछि देउवा कडकिएका थिए।जवाफमा देउवाले भने, ‘मलाई नजिस्क्याउनुस् म पार्टी राम्रो बनाएर योग्य नेतालाई छाड्न चाहन्थे, तपाईंहरुले यस्तै गर्नुभयो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति हुन सक्छु।’
नेपाली कांग्रेसको विधानमा एक जनाले दुईपटक मात्र सभापति हुन पाउने व्यवस्था छ। केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका कुराहरुको जवाफका क्रममा देउवाले होटल–होटलमा गुट भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको भन्दै आक्रोशित भएका हुन् ।
बैठकमा संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुले आगामी चुनावमा गठबन्धन गरेर जानु आवश्यक नभएको लगायत सरकारको कामको पनि आलोचना गरेका थिए। आफूविरुद्ध इतर समूहका नेताहरुको टिप्पणी पछि देउवा आक्रोशित बनेका हुन्।
प्रकाशित मिति : २९ असार २०७९, बुधबार २०:००












