२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

युवा संघ नुवकोटले वृक्षारोपण गरी मनायो विश्व जनसंख्या दिवस


२७ असार, नुवाकोट । नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नुवाकोटले विश्व जनसंख्या दिवस वृक्षारोपण गरी मनाएको छ । सोमबार नुवाकोटको सदरमुकाम रहेको विदुरको नगरपालिकाको वडा नम्बर ६ को चण्डीपोखरी क्षेत्रमा वृक्षारोपण गरेर विश्व जनसंख्या दिवस मनाएको अध्यक्ष प्रज्वल सापकोटाले दैनिकीलाई जानकारी दिए ।

वर्षौदेखि चरणक्षेत्रमात्र रहेको पोखरी क्षेत्रमा वृक्षारोपण गरिएको उनले बताए । खुला क्षेत्रहरूमा वृक्षारोपण गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जनसंख्या दिवसको अवसरमा यस्तो रचनात्मकक काम गरिएको अध्यक्ष सापकोटाले बताए । सापकोटाले वृक्षारोपणको क्रममा चाँप, सिसौ, धूपी, कागती लगायतका प्रजातीका चारसय बिरुवाहरू रोपिएको बताए ।

 वृक्षारोपणमा नेकपा एमालेका नेताहरू सञ्जु पण्डित, अम्बिका पौडेल, अध्यक्ष प्रदिप घिमिरे, नविन प्रधान र अनुजकुमार श्रेष्ठ लगायत पनि सहभागी भएका थिए । सापकोटाले एमालेको भ्रातृ संस्था भए पनि युवासंघले युवाहरूका लागि रचनत्मक काममा जोड दिँदै आएको बताए । सपाकोटाले पार्टी निर्देशन र संगठनको नियमित काम बाहेक पनि यस्तै खालका रचनात्मक कामहरू गर्दै आएको बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार २१:२४