१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

सशस्त्र प्रहरीका ५७ डिएसपीले पाए दर्ज्यानी चिन्ह

२७ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलका पदोन्नती भएका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन । सशस्त्र प्रहरीको मुख्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहमा डिएसपीमा बढुवा भएका ५७ जना अधिकृतहरुलाई अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरे ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिँदै कार्य सफलताको शुभकामना समेत दिए । अर्यालले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफुहरु अगाडी बढिरहेको  बताए ।

उनले खाली पदहरु सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने बताए । महानिरीक्षक अर्यालले संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास व्यक्त गरे ।

उनले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै  मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

यसैगरी महानिरीक्षक अर्यालले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लागेका अधिकृतलाई आगामी जीवन सुखमय रहोस भन्ने कामना गरे । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:२४