गठबन्धनको धङधङी हटाउन एमालेले सात विषयमा आफ्ना कार्यकर्तालाई पढाउने
२७ असार, काठमाडाैँ । वैचारिक रुपमा कार्यकर्ता कमजोर हुँदै गरेको टिप्पणी भइरहेका बेला नेकपा (एमाले)ले सातवटा विषयमा केन्द्रीत भएर प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अस्ती जेठ ३० र असार १९ गते बसेका सचिवालयका बैठकका निर्णयका आधारमा आज जारी गरेको अन्तरपार्टी निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ ।
अपानीमा ‘बैचारिक प्रशिक्षण’ शिर्षकमा उल्लेख भए अनुसार कार्यकर्ताहरुमा अझै पनि गठबन्धनको धङधङी छुट्न नसकेकोले त्यसबाट मुक्त भएर उच्च मनोवलका साथ अघि बढ्ने बनाउन कार्यकर्तालाई यस प्रकारको प्रशिक्षणको तयारी गरिएको हो ।
अपानीमा उल्लेख भए अनुसार निर्वाचनको परिणामपछि अनावश्यक रुपमा सृजित प्रतिरक्षात्मक मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याई उनीहरुलाई आागमी चुनौतीका लागि सहज सामना गर्न सक्ने बनाउन देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । त्यसका लागि निम्न विषयवश्तुहरु तोकिएको अपानीमा उल्लेख छ ।
१. स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आागमी निर्वाचनको तयारी
२. वर्तमान राजनीतिक शक्ति सन्तुलन,पार्टीका सामर्थ्य, विस्तार र राष्ट्रको मुख्यशक्तिका रुपमा नेकपा एमालेको भूमिकाको अभिवृद्धि
३. पार्टी र जनप्रतिनिधीबीचको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाटै समाजवादका आधार निर्माण गर्न पार्टीले खेल्नुपर्ने भूमिका
४. पार्टीपंक्तीलाई अनुशासित जीवन शैलीयुक्त आर्थिक रुपमा स्वस्थ एवं व्यवस्थित बनाउने सम्बन्धमा
५. महंगी लगायत जनसरोकारका विषयमा आन्दोलन उठान र यसमा पार्टी कमिटी तथा जनसंगठनको परिचालन
६. प्राकृतिक विपत्ती र विपद् व्यवस्थापनमा पार्टीको स्वयंसेवी संरचनालाई तयारी अवस्थामा राख्न निर्देशन
७. प्रचार कार्यलाई शसक्त बनाउने एवं पार्टी काममा सूचना प्रविधिको प्रभावकारी प्रयोगका सम्बन्धमा । प्रशिक्षण हाइब्रिड हुने जनाइएको छ । जसमा भौतिक उपस्थिती विधी र भर्चुअल माध्यमको पनि प्रयोग हुनेछ । प्रशिक्षणका लागि बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरुलाई जिम्मेवारी दिइएको अपानीमा उल्लेख छ ।
प्रकाशित मिति : २७ असार २०७९, सोमबार १२:१०












