१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमाले–माअ‍ोवादी एकता चैत्र पहिलोसाता


२४ फागुन, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ ।

केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन ।

संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको जानकारी दिनुभयो ।

पार्टी एकता संयोजन समितिको यही फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर यही फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो ।

वैचारिक कार्यदलको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ । दुवै कार्यदललाई यही फागुन २५ गतेभित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुनसक्ने बुझिएको छ । प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०७:४७