१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बजार अनुगमन प्रभावकारी बनाउन मुख्यसचिवलाई उपभोक्ता जागरण अभियानको आग्रह


२३ असार, काठमाडाैँ । उपभोक्ता अधिकारको क्षेत्रमा अग्रणी संस्थाको रुपमा रहेको उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सरकारका मुख्य सचिवलाई भेटेर जागरण अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नु पर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जागरण अभियानले बुझाएको ज्ञापन पत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरु हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भैरहेको भन्दै ज्ञापन पत्रमा बजार अनुगमन सार्थक एवम् प्रभावकारी हुन नसकेको आरोप लगाइएको छ ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको विक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याउँदै बजार मुल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

भन्सार गेट मुल्य र उद्योग गेट मुल्यको आधारमा वस्तुको मुल्य विश्लेषण गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अधिनस्थ विभाग, कार्यालय र निरिक्षण अधिकृतहरुलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ । जागरण अभियानले वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षणका लागि उपभोक्तावाद्को सिद्धान्तबाट निर्देशित भई उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्यसञ्चालन स्तरमा योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०२:४०