नुवाकोटका अनन्तराम केसीद्धारा लगातार ९० घण्टा २ मिनेट भाषण गरेर विश्व कीर्तिमान कायम
–सुप्रिया मुडभरी
१५ भदाै, काठमाडाैँ । नुवाकोटका अनन्तराम केसीले लगातार ९० घण्टा २ मिनेट भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन । यसअघि भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट लामो भाषणको अभिलेख रहेकामा उक्त रेकर्ड केसीले तोडेका हुन ।
काठमाडाैँको गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा भदाै ११ गते सोमबार बिहान ६ः१५ बजेदेखि भाषण सुरू गरेका केसीले भदाै १४ गते बिहीबार राति १२ बजेसम्म लगातार ९० घण्टा भाषण गरेर विश्व कीर्तिमान कायम गरेको अभियानका सहयोगी साकुरा नेपाल कन्सलटेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले दैनिकीलार्इ जानकारी दिए ।
अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लगेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए। त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमान कायम गरेका हुन ।
शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान बनाएका हुन । आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि भएको केसीले बताएका छन ।
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ०८:३५