४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

कञ्चनपुरमा छालाजन्य रोगका बिरामी बढ्दै

१३ भदौ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी बिरामीमा छालाको समस्या देखापरेको हो ।

नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि तीन सय बढी बिरामी पुग्ने गरेका छन् । अधिकांश बिरामीमा छाला चिलाउने, दाद, एलर्जी, फोकाफुन्सीलगायतका समस्या देखापर्ने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार चारवटै स्वास्थ्य संस्थामा गरी दुई महिनाको अवधिमा दुई हजार छ सय बढी छालाका बिरामीको उपचार गरिएको छ । छालाको समस्या सबैभन्दा बढी महिलामा देखापरेको छ, उहाँले भन्नुभयो, “छालाको समस्या लिएर आउने बिरामीमध्ये ९० प्रतिशत महिला रहने गरेका छन् ।”

व्यक्तिगत सरसफाइको कमी, घाँसपात काट्न खेतमा जाँदा विषालु किरा छोइँदा, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा बिषादीको प्रयोग गरी पकाइएका फलफूलको प्रयोग गर्नाले छालाको समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १२:०४