३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अपाङ्गता भएका ४० जनालाई घरायसी वातावरणमा राखी रोजगारी

११ भदाै, काठमाडाैँ । अपाङ्गता भएका ४० जनालाई घरायसी वातावरणमा राखी रोजगारीको अवसर दिइएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित खगेन्द्र नवजीवन केन्द्रको जग्गा र भवन भाडामा लिएर ‘बोधिसत्व इन एक्सन’ नामक संस्थाले अपाङ्गता भएका ४० जनालाई आवासीय सुविधासहित राख्ने व्यवस्था गरेको हो । यहाँ बस्नेलाई हस्तकलाका सामग्री अग्र्गानिक धूप, ढाकाका सामग्री, सिलाइ कटाइ, मेच, टेबल, थांका चित्र, नेपाली गलैँचालगायत सामग्री बनाउने तालीम दिएर रोजगारी दिइएको छ ।

संस्थामा हुने विभिन्न सामग्री निर्माणमा बाहिरका १०० जनाले पनि रोजगारी पाएको प्रबन्ध निर्देशक गोकर्ण ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । अपाङ्गता भएपछि घरमा बस्न मन नलागी आत्महत्याको प्रयास गरेकालाई यहाँ बिहानैदेखि योग, ध्यानजस्ता आध्यात्मिक प्रक्रियाले जीवनप्रति आशा जगाइन्छ ।

आज यहाँ आयोजित बोधिसत्वको चौँथो वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गता भएकालाई तालीमका माध्यमबाट रोजगारी दिइ आत्मनिर्भर बनाएर संस्थाले प्रशंसनीय काम गरेको बताउनुभयो ।

सो अवसरमा मन्त्री थापाले अपाङ्गताका क्षेत्रमा उत्कृष्ट काम गरेवापत ललितपुरस्थित डिस्एबल्ड सर्भिस एसोशियसन्का दयाराम महर्जनलाई पुरस्कारसहित सम्मान गर्नुभयो । पुरस्कारको राशी रु एक लाख रहेको छ ।
पुरस्कारका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने नौ संस्थाका प्रतिनिधि मनोनयनमा परेकामा महर्जनलाई उत्कृष्ट काम गरेकाले पुरस्कार दिइएको निर्णायक मण्डलका सदस्य पत्रकार घनश्याम खड्काले जानकारी दिनुभयो ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुलले समाजमा जीवन बिताउन असहज भएकालाई संस्थाले जीविकोपार्जनको व्यवस्था गरेर उदाहरणीय काम गरेकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्गता भएकाले गीत, सङ्गीतका साथै नाटकसमेत प्रदर्शन गरेका थिए । भूकम्पका कारण अपाङ्गता भएका २० जनालाई संस्थाको कीर्तिपुर शाखामा राखिएको जनाइएको छ । त्यहाँ पनि तालीम दिइ रोजगारी दिइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार २१:१९